Saturday, July 20, 2013



 

कालसर्प योग

वैज्ञानिक विचार 



राहु र केतु यी दुबै ग्रहलाई छायाग्रह भन्ने गरिन्छ, किनभने आकाशमा यी दुबै ग्रहको भौतिक पिण्ड छैन। खगोलीय वृत्तमा जुन ठाउँमा सूर्य र चन्द्रमाको भ्रमणपथको काल्पनिक रेखाको मिलन हुन्छ, त्यस बिन्दुविशेषलाई राहु र केतु छायाग्रह मानिन्छ। सूर्यादि ग्रहहरू आआफ्ना भ्रमणपथमा भिन्नभिन्न गतिले भ्रमण गर्ने हुनाले पृथ्वीमा बसेर अवलोकन गर्नेहरूले सबै जसो ग्रहहरू एउटै अर्द्धवृत्तमा वा १८०˚ भित्र देख्ने परिस्थिति पनि समयसमयमा आइपुग्दछ । हामीले मान्दै आएका सूर्य, चन्द्र, मङ्गल, बुध, बृहस्पति, शुक्र र शनिलाई एउटै निश्चित बिन्दुबाट १८०˚ वा अद्र्धवृत्त भित्रै देखिने यस्तो विशेष अवस्था दुर्लभ नै हुन्छ । अझ छायाग्रहका रूपमा मानिएका दुई विन्दुहरू राहु र केतुको बीचमा माथि उल्लेखित सातै ग्रहहरू एकत्रित हुनु त झनै दुर्लभ हुन्छ । यही राहु र केतुको बीचमा सबै ग्रहहरू रहेको देखिने दुर्लभ परिस्थिति­विशेषलाई नै वास्तवमा कालसर्पयोग भन्ने गरिन्छ । सामान्यतया कालसर्पयोगको अवस्थालाई ज्यौतिषमा दुर्लभ र व्यवहारमा दुःखद मान्ने गरिन्छ ।
तपाईंको चिनामा सबै ग्रहलाई तपाईंको जन्मसमय, जन्मस्थान र त्यस समयको ग्रहगोचरको वृत्त संरचना गरी हेर्दा एउटा अर्द्धवृत्तभित्र सबै ग्रह पर्नु र त्यस अर्द्धवृत्तको प्रारम्भ विन्दु र अन्तिम विन्दुमा राहु (छायाग्रह) वा केतु(छायाग्रह) रहेको स्थिति नै कालसर्प योग हो । अर्को शब्दमा जब तपाइको चिनामा भएका सबै ग्रहहरु राहु र केतु को बिचमा हुन्छन् अनि निर्माण हुन्छ, तपाइको सुखमा ग्रहण लगाउने - काल सर्प योग । मूलत: राहु-केतु भौतिक ग्रह नभएर आध्यात्मिक ग्रह हुन्। अत: यी दुबै ग्रहका सम्बन्धमा विशेष अध्ययन गर्नु नितान्त आवश्यक छ। वास्तवमा राहु र केतु दुबै ग्रहको हाम्रो कर्मगत फलसँग अति गहिरो सम्बन्ध छ। यी ग्रह जीवनका सूक्ष्मतम बिन्दुसँग असाध्यै नजिक छन्। यी दुबैको सोझो सम्बन्ध हाम्रो चेतनासित छ। त्यसैले राहु र केतु यी दुईवटै ग्रह आफ्नो प्रभाव देखाउन शीघ्रता गर्दछन्।

No comments:

Post a Comment